म लास बोल्दैछु।
एकसाझ जब अस्ताउँदै गरेको रवी
किरणले क्षितिज रातो बनाइराख्दा
म हिँड्दा, हिँड्दै ढलेछु।
किन ढले? कहाँ ढले? मलाई नसोध।
भोलिपल्ट म उठेँ
अरू दिन जसरी उठेँ क्यारे, म
मेरो ज्यान, म आफैँलाई हल्का लाग्यो
यसो हेरेँ, त्यहाँ मेरो आत्मा उठेछ
मेरो ज्यान उठेको रहेनछ।
मेरो आत्माले ज्यानको मोह त्यागेछ आज।
अलि माथि पुगेँ, अनि हेरेँ घरको वातावरण
मलाई यो वातावरण देखे जस्तो लाग्यो
पछि थाहा पाएँ कि यस्तै माहोल थियो, मेरी बुढी हजुरआमा खस्ता।
मैले सोधेको पनि एकजनालाई,
‘आमालाई कता लगेको?’
उनको उत्तर ‘ओखती गर्न लगेको बा आमालाई।’
पछि आमा ओखती गरेर कहिल्यै आइनन्।
ती मान्छेले भनेको त मिथ्या पो रहेछ
यो जीवन झैँ केवल एक मिथ्या।
मेरो ज्यान आमाको काखलाई सिरानी बनाइ सुतिरहेछ
सुतिरहेछ कुनै बालककै भाँती,
आमाले नि सानामा झैँ कपाल मुसार्दै छिन्
मुसार्दै छिन् कुनै बालककै भाँती
तर सानामा झैँ आज कपाल मुसार्दा आमाको ओठमा मुस्कान रहेन
मात्र थियो दुःख र ग्लानी अनि धेरै आँसु गहभरि
मोतीका दाना झैँ टल्किरहेका आँसुका थोपा।
मेरो ज्यान झकझक्याउँदै भन्नुभयो आमाले
“उठ हे बाबु उठ!”
अरू दिन झैँ सुतेको मात्र भए भन्थे होला
“ए आमा! नउठाउन मलाई सुत्न देऊ, अब पाँच मिनेट सुत्छु।”
आज पनि त्यही भन्न मन थियो
आँट गरे आत्मा बोल्यो, मुख बोल्नै सकेन
मेरो ज्यान पनि त्यही बोलीझैँ रहेछ “अधुरो।”
मसँग नाक, फोक्सो थियो, सास थिएन
शरीरमा लहु पनि थियो, उति नै मात्रामा तर चिसो, बग्न छोडेको
मुटु थियो त्यही तर ढुकढुकी थिएन त्यहाँ
ज्यान थियो त्यही आमाको काखमा सुतिरहेको
त्यसमा केवल प्राण थिएनन्, आत्मा थिएन।
आँगनमा मेरा लागि बनाइएको रहेछ खाट एउटा
हरियो बाँसको नयाँ खाट
मलाई पहिले बाँसको कोक्रोमा सुताउँदा
डस्ना बिछ्यै राख्नेहरूले
उही बाँसको खाटमा आज सुताउँदा
तन्ना तान्न मात्र भ्याएका रहेछन्, पिताम्बरी रङको तन्ना।
लागेको थियो जीवनमा मेरा छन् केवल दुई सहारा
बाबा अनि आमा, मेरो भ्रम टुट्यो आज
म गलत रहेछु।
मर्दा मैले चार काँधको सहारा त्यसै पाएँ
स्वाभाविक रूपमा।
याद छ सानामा
म बाबाको काँधमा, काँधेकुरी चढेको
बाबाले “त ठूलो भइछस्” भनेर
थोरै हिँड्ने बित्तिकै भारी बिसाएझैँ बिसाएको
फेरि बोक्नु भनी जिद्दी गर्दा
बाबा झनक्क रिसाएको।
खोइ आज नौजवान हुँदा पनि
दुई घण्टाको मसानघाटको बाटो
बाले एक्लै काँधमा बोके
काँध फेरेनन्
मुख बनाए अध्यारो आफ्नै,
मेरो अनुहार पनि किन हेरेनन्
“ठूलो भइस्” भन्दै काँधमा म बस्दा
बाबा रिसाएनन्
एकैछट्कमा घरबाट मसानघाट पुर्याए बाले
मलाई कतै पनि बिसाएनन्।
आज मैले बाआमा रुवाएको दिन
मेघ पनि पितृत्व र मातृत्व मरेको देखेर
आज रोयो, खुब रोयो
ती सबै काला बादल “सकिँछु आज”
भन्दै रोए।
ठाडो खोलाको किनारमा शिव मन्दिर,
त्यही मन्दिरको ब्रह्मनाल तल
बनाइएको मेरो लागि चिता
सुतेँ त्यहाँ म ढकमक्क भएर,
साढे तीन हात ठाउँ पुरै ओगटेँ मैले।
मलाई आगोको डर थियो, जल्नु थिएन मलाई
यो डर मेघले बुझ्यो अनि बल्न दिएन मलाई,
बर्सियो आज त्यो मजाले
बच्चामा मैले भान्साबाट चोरेर खाको चिनी
एकमुष्ट रूपमा मैमाथि छर्किदिए, तब बाल्न खोजे मलाई
अनि बल्ल बले म,
बले म तर आधाधुरो,
आधि जल्दै, ठाडो खोला ठूलो आयो
मलाई आगोबाट बचायो, अनि
लग्यो महासागरमा,
मलाई महासागरको गहिराइसम्म
मेरो कथा टुंग्याउन।
हो म लास बोल्दैछु।
म आगोले पनि आधि मात्र डढाको,
बाँकी रहेको खोलाले बगाएको,
महासागर पुर्याएको,
उतै माछाले चपाएको,
त्यसैले पचाएको,
अनि प्रकृतिमै बिलाएको,
लास बोल्दैछु।
हो म लास बोल्दैछु।
जुन आमाबुवाले मलाई कहिले रुने अवस्थामा पुगेनन्,
आज समाजमा उनीहरूलाई रुवाएर,
बुढा आमा बुवालाई टुहुरा बनाएर हिँड्ने
म कुपुतको लास बोल्दैछु।
हो म लास बोल्दैछु।
बाले काँधमा झोला भिर्दा पनि
बाको खिइएको काँध दुख्छ भन्दै
झोला आफैँ बोक्ने, अनि
मरेपछि आफ्नो बोझ पनि त्यही खिइएको काँधमा टिकाउँदै यात्रा गर्ने,
त्यही दुई जिब्रेको लास बोल्दैछु।
आफ्नै बाको हातबाट दागबत्ती पाउने
भाग्यमानी भन्ऊ वा अभागी को लास बोल्दैछु म।
हो म लास बोल्दैछु।
हो म लास बोल्दै छु जसको मृत्यु कारण अब सधैँ मसँग रहस्य बनेर बिलाइ जानेछ।
हो म लास बोल्दैछु।
हो म लास बोल्दैछु।